टीआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन् ।

शुक्रबार २३औँ मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अबको पाँच दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको बताए । सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै सहिद परिवारले पाउनुुपर्ने सहयोग राज्यको तर्फबाट पाउन नसकेको बताए ।

प्रधानमन्त्रीले भने, ‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ती महान सहिद र बेपत्ता योद्धाहरूलाई राज्यको तर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ । तर, फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले । खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएको हुनाले सबै सहिद परिवारले पाउनुुपर्ने परिपूरण वा सहयोग राज्यको तर्फबाट उनीहरूको नाममा, उनीहरूको बालबच्चालाई रोजगारी विधेयकमा राखेका छौँ । धेरैलाई थाहा होला । त्यो विधेयक अब सदनमा पारित हुने अन्तिम चरणमा छ ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवस शान्ति प्रक्रिया पूरै टुंग्याएपछि पुनः मनाइने र बिदा दिइने दाबी गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम नटुंगिएकै कारण अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र बिदा दिन अस्वीकार गरेको बताए ।