स्वार्थको द्वन्द्वसम्बन्धी कानुन  निर्माण गर्न सांसद भट्टराईको माग

काठमाडौँ । नेकपा (एमाले) सांसद योगेश भट्टराईले स्वार्थको द्धन्द्ध सम्बन्धी कानुन बनाउन माग गरेका छन् ।

आज (सोमबार) प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कानुन आयोगले आयागले मस्यौद्या मन्त्रालयमा बुझाएको बताउँदै अब त्यसलाई विधेयकको रूपमा संसदमा ल्याउनुपर्ने बताए ।

उनले भने, आज म यो स्वार्थको द्वन्द्वसम्बन्धी कानून निर्माणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले र उनीहरुको पेसा जोडिएको विषयमा विगत समयदेखि पटकपटक यस्ता विषय उठिराखेका छन । राजनीतिक नेतृत्व, सांसद, मन्त्री, प्रधानमन्त्री, संवैधानिक निकाय, सुरक्षा निकाय, न्यायाधीशलगायतको बारेमा पनि यो कुरा उठेको छ । के गर्न हुने, के गर्न नहुने, कस्तो विषयमा नियुक्ति लिन हुने, कस्तो विषयमा नहुने ? यस्ता विषय गम्भीरताका साथ उठेका छन् । नेपाल भ्रष्टाचारसम्बन्धी संयुक्त राष्ट्रसंघको महासन्धिको पक्ष राष्ट्र हो । हालै सर्वोच्च अदालतले पनि द्वन्द्वसम्बन्धी कानून निर्माण गर्न निर्देशन गरेको छ ।’

सांसद, मन्त्रीदेखि सुरक्षा निकायमा पनि स्वार्थको द्वन्द्व देखिएको र पारदर्शीताका लागि कानुन आवश्यक रहेको उनको भनाइ छ ।