पहिरोले अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुल्ला

काठमाडौँ । गएराती परेको अविरल वर्षाको पछि पहिरो जाँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी रुपमा खुलेको छ ।

काभ्रेको रोशी गाउँपालीकाका विभिन्न स्थानमा बाढी पहिरो जाँदा रातीदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मंगलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ । तत्काललाई एकतर्फी रुपमा सञ्चालन भएको सडक दिउँसोसम्म दुबै तर्फ सञ्चालन हसने गरि काम भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले बताए ।