'लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिन्छ' : प्रधानमन्त्री ओली 

 काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने समझदारी भएको बताएका छन् । प्रतिनिधि सभामा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापनाको काम भइरहेको पनि बताएका हुन् ।

‘नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रहिआएका छौं । नेपालको संविधानको २०७७ असार ३ मा भएको दोस्रो संशोधनमार्फत् नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबीच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ । सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ,’ प्रधानमन्त्री ओलीले भने । उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत् समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको उनको भनाइ थियो ।

‘गत २०८० साल पुष १९ मा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा समेत सीमानाको विषयमा छलफल भएको र नेपाल भारत सीमाको बाँकी खण्डका काम छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको छ,’ उनले थपे, ‘नेपाल भारत सीमा कार्य समूहबाट नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मतका साथै दशगजा एवं क्रस होल्डिङको लगत तयार गर्ने जस्ता प्राविधिक कार्य निरन्तर रूपमा हुँदै आएका छन् । द्विपक्षीय अनुकूलतामा यसका बैठक सुचारू गर्ने सम्बन्धमा पहल भइरहेको छ ।’