बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंहको दावी स्थगित

मकवानपुर - बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङले दाबी पेस कार्यक्रम स्थगित भएको छ । यसअघि आज बिहान १० बजेको मुख्यमन्त्री दावी पेश गर्ने भनिएको थियो । तर, अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।

नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादव चन्द्र शर्माले ८ साउन ५ बजेभित्र संविधानको धारा १६८ ९२० अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

कांग्रेस सांसद कुन्दनराज काफ्लेका अनुसार समयसीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले आजका लागि दावी पेश गर्ने कार्यक्रम स्थगित गरिएको हो । कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका लामाले अब मंगलबार मात्र दाबी गर्ने भएका छन् । लामाले मंगलबार बिहान मुख्यमन्त्रीमा दाबी गर्ने बताएका छन् ।

एमाले र कांग्रेसको सहमतिमा लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको बताइएको छ । एमाले स्रोतले भने मन्त्रालय भागबण्डा नमिलेका बताएको छ । एमालेले मागेका सात मन्त्रालय दिन कांग्रेस तयार नभएको स्रोतको भनाइ छ । कांग्रेसले ६ वटा मन्त्रालय दिन प्रस्ताव गरेको एमालेका एक सांसदले बताए ।