'तरिका मिले पूरै अवधि प्रधानमन्त्री हुने हो' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको दावी गरेका छन् । इतिहास, मुद्दा र आन्दोलनका कारणले मात्रै नभई संसद्को जादू नम्बर सिट संख्याका कारणले पनि सरकार ढाल्न कसैले नसक्ने दाबी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिस्थिति र तरिका मिलेको खण्डमा पूरै कार्यकाल आफैं प्रधानमन्त्री हुने जिकिर गरे । ‘सबै परिस्थिति तरिका मिल्यो भने पूरै अवधि बसिन्छ । हामीलाई हटाउन सजिलो छैन । इतिहास, मुद्दा र आन्दोलनका कारणले र हाम्रो जादू नम्बरका कारणले पनि,’ प्रचण्डले भने, ‘जादू नम्बर छ हाम्रो, थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन । जादूवाला नम्बर छ, त्यो जादूले अनेक गरेर मिलाइहाल्छ ।’