नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र छैन : सांसद पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलमा आन्तरिक लोकतन्त्र नभएको दावी गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक रहेको बताए।

उनले नयाँ आएका राजनीतिक दल आन्तरिक लोकतन्त्र विकसित गर्ने नभई आन्तरिक लोकतन्त्रलाई अभ्यास नगर्ने गरी आएको जिकिर गरे।

उनले नयाँ आएका राजनीतिक दलमा पार्टीको नेतृत्वले गल्ती गरे पनि केही बोल्न नसक्ने अवस्था रहेको बताए। उनले सम्पूर्ण रूपमा लोकतन्त्रलाई कुण्ठित गरिएको नेतृत्वको पञ्जाभित्र नयाँ पार्टी रहेको बताए। नेतृत्वले नियन्त्रण गरेको पार्टी काँग्रेस हुन नहुने पनि दावी गरे। काँग्रेसले आन्तरिक व्यवस्थाभित्र विधि बलियो हुने गरी आफूलाई अघि बढाउन सक्नुपर्ने बताए।

पौडेलले भने, ‘नेपालको राजनीतिमा काँग्रेससँग कुनै पनि राजनीतिक दलको तुलना हुन सक्दैन। आन्तरिक व्यवस्थाको सन्दर्भमा अरूसँग तुलना गर्दा काँग्रेस बढी लोकतान्त्रिक छ। नयाँ आएका पार्टी त आन्तरिक लोकतन्त्र विकसित गर्ने होइन, आन्तरिक लोकतन्त्रलाई अभ्यास नै नगर्ने गरी आएको जस्तो देखिन्छ।’

सांसद पौडेलले नेपाली काँग्रेसले सुशासनको बारेमा स्पष्ट दृष्टिकोण दिन सक्नुपर्ने बताए।