'बाढी/पहिरो,विपद्का घटना भएमा खोजी र उद्धार गर्न सबै तयारी छ' : गृहमन्त्री श्रेष्ठ

 काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताएका छन् ।

राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा  सम्बोधन गर्न सकिएको जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले भने, “विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।”

थुप्रै सम्भावनाका बीचमा पनि नेपाल भूकम्प, बाढीपहिरो, जलवायु परिवर्तनको असरबाट हुने क्षतिका हिसाबले उच्च जोखिममा रहेकाले विभिन्न खाले विपद्को सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले राहत, उद्धार र सहयोगलगायत विषयलाई प्रभावकारी विभिन्न तहमा गठन गरिएको समितिबाट प्रभावकारीरुपमा काम हुने जानकारी दिए।