सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौँ- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनैपनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो ।

महासंघका अध्यक्ष कुस्लभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताउनुभयो । जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट तेस्रो चरणको आन्दोलन सुरु हुने उनले बताए । 

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उनले उद्घोष गरे । नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए ।  सबै बचतकर्तालाई जेठ ११ गते ११ बजे माइतीघर मण्डलामा उपस्थित भएर आन्दोलनमा सहभागी हुन उनले आग्रह गरे ।