मन्त्री बुढा र राजदूत श्रीवास्तवद्वारा ज्येष्ठ वर्ण महाविहार भवन उद्घाटन

ललितपुर । शहरी विकास मन्त्री धनबहादुर बुढा र भारतीय राजदूत नवीन श्रीवास्तवले पाटनस्थित पुननिर्मित जेष्ठ वर्ण महाविहार भवनको संयुक्त उद्घाटन गरेका छन् । मन्त्री बुढा र राजदूत श्रीवास्तवले शुक्रबार उक्त महाविहार उद्घाटन गरेका हुन् । 

कार्यक्रममा बोल्दै मन्त्री बुढाले काठमाडौं उपत्यकाका सम्पदा संरक्षण  जीर्णोद्धार तथा प्रबलीकरण कार्यमा भारतले पुर्‍याएको योगदानप्रति सरकार सदैव कृतज्ञ रहेको बताए । 

यस्तै भारतीय राजदूत श्रीवाट्वठतले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक, पर्यावरणीय सम्बन्ध रहेको उल्लेख गर्दै  नेपालको विकासमा हातेमालो गर्न पाउन आफूहरू खुशी रहेको पनि बताए ।ललितपुर महानगरपालिका १२ चाः वहास्थित जेष्ठ वर्ण महाविहार वि.सं. २०७२ को विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त बनेको थियो ।

भारत सरकारको आर्थिक सहयोग र भारतीय राष्ट्रिय ट्रष्टको प्राविधिक सहयोगमा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना समन्वय इकाई भवन तथा आवासले उक्त महाविहार पुननिर्माण गरेका हो । 

नेपाली परम्परागत बहिल वास्तुकला, काष्ठकला एवं कालीगढीको अनुपम संयोजन रहेको दाबी गरिएको यस विहारलाई पुरानै स्वरुपमा फर्काउन भ्याटबाहेक १४ करोड ५९ लाख १३ हजार ९९४ रुपैयाँ ४ पैसा रहेको थियो । 

कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक कुमारप्रसाद घिमिरे, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का आयोजना प्रमुख कोषनाथ अधिकारी लगायतको उपस्थिति थियो ।