आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द

काठमाडौँ - आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेको हो ।

शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गरेका छन् ।

सरकारले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।
शिक्षा विधेयकमा शिक्षकको सरुवा, बढुवा, नियुक्ति कार्यसम्पादन, सेवा सुविधा, नियमन लगायत रेखदेखमा स्थानीय तहको भूमिका रहने व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै आएको छ ।

विधेयकले शिक्षकलाई पालिका मातहत राख्ने व्यवस्था गरेको प्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै विद्यालय बन्द गरी प्रदर्शनमा उत्रिएको जनाएको हो ।