परराष्ट्रमन्त्री श्रेष्ठ शनिबार इरान जाने  

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरान जाने भएका छन् । एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन उनी इरान जान लागेका हुन् ।

बैठक इरानको राजधानी तेहरानमा असार १० गते हुँदै छ । बैठकको साइटलाइनमा परराष्ट्रमन्त्री श्रेष्ठ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
 
मन्त्रीस्तरीय बैठक अघि तेहरानमा असार ९ गते हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन् । 

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कनेछन् ।