'राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको छ' : परराष्ट्रमन्त्री

काठमाडौँ - परराष्ट्रमन्त्री एनपी साउदले राहदानी वितरण कार्यलाई थप सहज बनाउने प्रयास भइरहेको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले समयमा नै राहदानी छपाई प्रक्रिया अघि बढाएर सहज रुपमा राहदानी वितरण गर्ने प्रयास भइरहेको जानकारी दिएका हुन् ।

उनले मासिक औसत १ लाख २० हजार राहदानी वितरण भइरहेको र अहिले चार महिनाका लागि पुग्ने राहदानी मौज्दात रहेको बताए । ५० लाख राहदानी छाप्नका लागि टेन्डर भएपनि सरकार आफैले छाप्ने भनेर २० लाख मात्रै छापिएको अवस्थामा सुरक्षण मूद्रण प्रेसको विवादका कारण राहदानी छाप्ने कार्य रोकिएको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधि भित्र रहेर सुरक्षित रुपमा छाप्नुपर्ने भएकाले छपाई प्रक्रियामा केही समय लाग्ने मन्त्री साउदको भनाइ छ । त्यस्तै मन्त्री साउदले अर्थ मन्त्रालयबाट ओएनएम सर्वेका लागि सहमति लिएको भएपनि कर्मचारी संख्या नबढ्ने गरी सर्वे गर्नु भनेपछि समस्या भएको जिकिर गरे ।