'सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत भयो' : प्रधानमन्त्री दाहाल 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत भएको बताएका छन् । नेपाल बुद्धिजीवि सङ्गठन छैटौं राष्ट्रिय सम्मेलनको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन् ।

उनले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए । ‘नयाँ आएर बोल्नेहरूको जिम्मेवारी हुन्छ की पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलढेको भए लाकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव थियो त ? विल्कुल थिएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूले त पुरानाहरूलाई सम्मान गर्नुपर्ने, तपाईंहरूको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायाँै भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाउआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि । आमा बाउलाई त बुढाबुढीलाई त सम्मान पो गर्नुपर्छ ।’

‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन रहँदैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पर्दैन ।’

उनले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने बताए । प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।