केपी शर्मा ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने

काठमाडौँ - एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्न लागेको एमाले संसदीय दलको बैठकमा जानकारी गराएका हुन् । 

यसअघि ओलीले जेठ ४ गते संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि उक्त दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपछि स्थगित भएको थियो। उक्त दिन स्वास्थ्य अवस्थाका कारण पनि संसद बैठकमा सहभागी भएका थिएनन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा संसद्मा जानकारी दिनेसमेत यस अगाडि घोषणा गरेका थिए। संसद् बैठक आइतबार बिहान ११ बजे बस्दैछ ।

संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रमलाई नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएको संज्ञा दिए। सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यो सरकारसँग जनताको समस्या समाधान गर्ने कुनै नीति नै नभएको बताए ।