काठमाडौँको थलीमा शंकास्पद रुपमा पुरुषको शव फेला

काठमाडौँ - काठमाडौंको थलीमा एक पुरुष शंकास्पद रुपमा मृत भेटिएका छन् । थलीबाट साँखुतर्फ जाने उकालो कागेश्वरी मनहरा नगरपालिका–५, सानोथलीमा मा करिब ५५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी नवराज अधिकारीले जानकारी दिए ।

घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । ‘मृत्यु दुई तीन घण्टा मात्र अगाडि भए जस्तो देखिन्छ’, घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘शव नजिकै दुइैटा ब्लेड फेला परेका छन्, ती व्यक्तिले मुखमा मास्क लगाएका छन्, घटनास्थल सुरक्षित राखेर अनुसन्धान गर्दैछौं ।’

प्रहरीका अनुसार कपडाले मुख ढाकिएको अवस्थामा मृत फेला परेका व्यक्तिको अहिलेसम्म पहिचान हुन सकेको छैन ।