बञ्चरे डाँडामा काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी ! धुनिवेशी र ककनीको १५ दिने अल्टिमेटम

काठमाडौँ - धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाले काठमाडौँ उपत्यकाको फोहोर फाल्न नदिने भन्दै विरोधमा उत्रिएका छन् ।

धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौंको फोहोर फाल्न नदिने चेतावनी दिएको हो। धुनिवेशीका मेयर बालकृष्ण आचार्य र ककनीका अध्यक्ष सुमन लामाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी काठमाडौं महानगरलाई १५ दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ ।

दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले १५ दिनभित्र माग पूरा नगरे फोहोर फाल्न नदिने निर्णय गरेको जनाइएको छ । उनीहरूले भनेका छन्, “मागहरू १५ दिन भित्र पूरा नभएमा दुवै स्थानीय तहको कार्यपालिकाको बैठकले निर्णय गरी फोहोरको ढुवानी बन्द गराइनेछ ।”

ककनी र धुनिवेशीका जनप्रतिनिधिको बैठकले ६ वटा माग राखेको छ। जसमा यअसघि काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै तत्काल कार्यान्वयन गर्न माग गरिएको छ ।


त्यस्तै, फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्न उनीहरूले माग गरेका छन् ।