प्रधानमन्त्रीको भारत भ्रमण बजेटपछि, एजेन्डाबारे छलफल शून्य

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतलगत्तै गर्ने गरी तयारी सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै जेठको तेस्रो साता भारत भ्रमण गर्ने तयारी भएको हो । 

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसलगत्तै भारतीय सञ्चारमाध्यममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने घोषणा गरेका थिए । प्रधानमन्त्री बनेयता उनले मिति तय भए पनि चीनमा आयोजित बोआओ फोरममा सहभागी भएका थिएनन् । बैशाखमै भारत जाने घोषणा गरेका उनी कुटनीतिक रुपमा सफल नहुँदा भ्रमण मिति सार्दै आएका छन् । 

परराष्ट्रमन्त्री एनपी साउदले पनि जिम्मेवारी सम्हालेलगत्तै आफ्नो पहिलो काम प्रधानमन्त्रीको भारत भ्रमणको तयारी नै रहेको बताएका थिए। प्रधानमन्त्री भारत जान व्यग्र देखिए पनि प्रचण्डले भ्रमणका क्रममा नेपालले उठाउने मुद्दाबारे छलफल र परामर्श गरेका छैनन् । 

परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल अघि बढे पनि मितिबारे निर्णय हुन बाँकी रहेको जनाएको छ । सचिवालय स्रोतले जेठ १७ देखि प्रधानमन्त्रीको तीनदिने भारत भ्रमणको तयारी भइरहेको बताएको छ । परराष्ट्रमन्त्री साउदले भ्रमणकै लागि पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत र पूर्वसचिवहरूसँग छलफल गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री साउदले भारत भ्रमणका क्रममा नेपालले उठाउनु पर्ने व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटनलगायतका विषयमा छलफल गरेका थिए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।