माछा मार्ने क्रममा खोलामा डुबेर  १४ वर्षीय बालकको मृत्यु  

काठमाडौँ । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका- ६, खैरेनीका कमलदिन मियाँका छोरा १४ वर्षीय युवराजदिन मियाँको मृत्यु भएको हो।

शुक्रवार साँझ करिब ६ः०० बजेको समयमा युवराजदिन मियाँ बल्छीबाट माछा मार्न भनी बडिगाड खोलामा गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीको अनुसार बेलुकीसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा खोलाको किनारमा तैरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

प्रहरीले उनको मृत्युको विषयमा थप अनुसन्धान थालेको छ। शवलाई पोष्ट मार्टमका लागि तम्घास अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।