लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको महामन्त्री शर्माको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको दाबी गरिएको छ ।

महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले भनेका छन् , ‘पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ तर, पनि असनतुष्टी र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।’

प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभइ विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताए।

महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताए । ‘वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असनतुष्टी र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमश समाधान गरेर जाने सङ्कल्प र दृढता राख्नुपर्छ’, उनले लेखेका छन् ।

महामन्त्री शर्माले भनेका छन् ‘सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्‍याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।’