दशैं अगाडीको शेयर बजारमा करेक्सन : नेप्से चार अंकले घट्यो, कारोवार रकम कति ? 

काठमाण्डौँ - दशैं अघिको अन्तिम कारोबारमा नेप्सेमा सानो गिरावट आएको छ ।

अघिल्लो दुई दिनमा ५६ अङ्कले बढेको नेप्सेमा बिहीबार भने सामान्य करेक्सन देखिएको हो । मङ्गलबार १३.१८ अङ्कले बढेको बजार बुधबार थप ४३.२७ अङ्कले बढेको थियो । आज बिहीबार भने बजार ४.०५ अङ्कले घटेर १९०३.८४ विन्दुमा बन्द भएको छ ।

 दिनभरिनै उतारचढाव रहेको बजारमा बढेर १९१५ अङ्क माथि पुगे पनि अन्तिम घन्टामा घटेको थियो । अघिल्लो कारोबारको दिन कुल ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने हल्का बढेर ९७ करोड ०६ लाख १२ हजार आठ सय ९२ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्त, विन लघुवित्त, सानिमा जिआइसी इन्स्योरेन्स, नेपाल हाइड्रो र सिवाइसी लघुवित्त कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो ।