ठेक्का प्रक्रिया रद्द भएसँगै एमसिसीअन्तर्गत बन्ने प्रसारण लाइन अन्योलमा

काठमाडौं - मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीको अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ ।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए–नेपालले गत असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारण लाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो । जसमा चरण लट–१ को लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा, दोस्रो चरण लट–२० को रातामाटे–न्यु दमौली, र तेस्रो तरण लट–३ को न्यु बुटवल–नेपालरभारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको छ ।

सुरुआती लागत अनुमानभन्दा बढी रकमको ठेक्का प्रस्ताव भएपछि यो ठेक्का प्रक्रिया रद्द भएको एमसिए–नेपालको भनाइ छ । कुल तीन सय १५ किलोमिटरको चार सय केभी विद्युत् प्रसारण लाइनका लागि अब पुनर्ठेक्का रि–टेन्डर प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा अन्योल देखिएको छ ।