विधिपूर्वक समापन गरियो तीज

काठमाडौँ - भाद्र शुक्ल तृतीयाका दिनमा देवादिदेव महादेवको पूजाआराधना गरी हरितालिका तीज पर्वको व्रत बसेका व्रतालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरू व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका तीज व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका व्रतालुले पनि व्रत समापन चतुर्थीको बिहान गरेपछि मात्र भोजन गर्ने गर्छन् ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।