विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइँदै

 काठमाडौँ - जलमा डुबेकी पृथ्वीलाई भगवान् विष्णुले उद्धार गरी मानव बसोवास गर्न योग्य बनाएको सम्झनामा आज वराह जयन्ती पर्व मनाइँदै छ ।
सत्य युगमा जलमा डुबेकी पृथ्वीको उद्धार गर्न भगवान् विष्णुले श्रावण शुक्ल तृतीयाका दिन वराह बनेलको रूप लिएको विषय वराहलगायत पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । पृथ्वीमा महाप्रलय भएर जलमा डुबेपछि पनि वराहरूपी विष्णुले उद्धार गर्नुहुने वैदिक ग्रन्थमा उल्लेख गरिएको छ ।

भगवान् विष्णुले विभिन्न तत्वबाट मानव समुदायलाई बचाउन मुख्यरूपमा दश अवतार लिएको धार्मिक मान्यता छ ।
मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, कृष्ण, बुद्ध र कल्की गरी दश अवतार लिई असत्यबाट सत्यको रक्षा गरेको वैदिक ग्रन्थमा व्याख्या गरिएको धर्मशास्त्रविद् भट्टराईले बताए ।

यसै सम्झनामा आज वराहरूपी भगवान् विष्णुको पूजा आराधना गरी वराह जयन्ती मनाइन्छ । यस अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेका वराहरवाराही मन्दिरमा भीड लाग्ने गर्छ ।