कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी

 काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी छ ।

मंगलबारदेखि सुरू भएको बैठक आज दोस्रो दिन पनि जारी रहेको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकको पहिलो दिन महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराएका थिए भने अर्का महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो क्रममा थापाले यस वर्ष साउनदेखि २०८१ असार ३१ गतेसम्म एक वर्षको अवधिलाई ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ राष्ट्रिय अभियान गर्ने प्रस्ताव गरेका छन् । एक वर्षको अवधिमा कम्तिमा पाँचदेखि सात लाख पार्टी सदस्य बनाउने उद्देश्यसाथ अभियान गरिने उनले बताए ।

बैठकमा नेता गोपालमान श्रेष्ठले पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए भने नेता आनन्दप्रसाद ढुङ्गानाले अनुशासन समितिले तयार गरेको कामका बारेमा जानकारी गराएका थिए ।

यस्तै बैठकमा प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाका विषयमा जानकारी गराउदै प्रमुख सचेतक रमेश लेखकले राजनीतिक रूपले गठबन्धन परिवर्तन भएका कारण प्रमुख प्रतिपक्ष आक्रामक रहेको र रास्वपा तथा राप्रपा अपरिपक्व देखिएको टिप्पणी गरे ।

त्यस्तै सरकारमा पार्टीको भूमिकाका बारेमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउँदै कांग्रेसले सरकारमा बसेर कुनै गल्ती कमजोरी नगरेको बताए । खड्काले जनताको भावनालाई केन्द्रमा राखेर काम गरिरहेको जिकिर गरे । केन्द्रीय समिति बैठकलाई कांग्रेसले प्रत्यक्ष प्रसारण पनि गरेको थियो ।