कवाड व्यवसायीमाथि भएको धरपकडको विरोध गर्दै सांसद अमरेशले भने,  बालेनको घरमा लगेर फोहोर थुपारदिनुस्

काठमाडौँ । कवाड व्यवसायीमाथि धरपकड भएको भन्दै संसद्मा विरोध भएको छ । ्बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सरकारले कवाड व्यवसायीमाथि गरेको अत्याचारको विरोध जनाएका हुन् ।

काठमाडौँ महानगरका मेयर बालेन सिकाएको भन्दै उनले महानगरपालिकामै लगेर कवाडका सामग्री थुपारिदिन पनि आग्रह गरे । ‘बालेन नै सिकाउनुभएको छ । उहाँले सडक विभागमा फोहोर लगेर थुपारिदिनुभयो । कवाडीवालालाई भन्छु बालेन शाह र काठमाडौँ महानगर कार्यालयको अगाडि कवाडी सामान थुपारदिनुस्,’ सिंहले भने ।

सांसद सिंहले उच्च अदालत पाटनको आदेशलाई काठमाडौँ महानगरपालिकाले लत्याएको भन्दै बालेनलाई जर्मनीका शासक हिटलरको संज्ञा दिए । ‘मधेसका कवाडी व्यवसायी आन्दोलनमा छन् । कानुनी हिसाबले सही छन् । पाटन अदालतले पनि कवाडालाई नहटाउन भनेर अन्तरकालिन आदेश दिएको थियो । तर शान्तिपूर्ण आन्दोलन गर्दा लाठीचार्ज भएको छ,’ सांसद सिंहले भने, ‘वर्गविभेद, रंगभेद, जातिभेद यहाँ कायम छ । एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहोरा हान्ने । हिजो दर्जनौं घाइते भएका छन् । दर्जनौं घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरूको निःशुल्क उपचार गरियोस् ।’

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले यस सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने समेत माग गरे ।