आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेका थिए संसद् भवनको सुरक्षामा खटिएका अजितले  

काठमाडौँ । काठमाडौँ नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले आफैँले बोेकेको राइफलले अनुहारमा गोली हानेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनी बिहान ड्युटीमै खटिएको पाइएको छ ।

“बाथरुमभित्र राइफल छ, गोली छ, मृत अवस्थामा भेटिएका छन्,” एसपी अधिकारीले भने, “प्रारम्भिक अवस्थामा उनले आफैँले गोली हानेको देखिन्छ ।” उनले ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको छ । उनी बिहान ६ बजेदेखि १० बजेसम्म सोही स्थानमा ड्युटीमा खटिएका थिए ।

उनको शव बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो ।