अछाममा छाउगोठ  बसेकी १६ वर्षीया किशोरी बलात्कृत  

काठमाडौँ । अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । सोमबार मध्यराति छाउगोठमा बसेकी १६ वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले पञ्चदेवल विनायक–२ रिठे तोलाका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोर नाताले किशोरीको मामा हुन् ।

मंगलबार ती किशोरी बेहोस अवस्थामा फेला परेकी थिइन् । त्यसपछि उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । बेहोस् अवस्थामा अस्पताल पुर्‍याइएकी ती किशोरीले होस खुलेपछि आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएको प्रहरीले जनाएको छ ।

उनको बयानका आधारमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो । उनी हाल प्रहरीको हिरासतमा छन् । पीडित किशोरीको घर पञ्चदेवल विनायक नगरपालिका–६ मा छ।

पञ्चदेवल विनायक–२ मा उनी मामा घरमा बस्दै आएकी थिइन् । आमा बितेपछि उनका बुवा अर्को बिहे गरेर भारतमा बस्दै आएका छन् । मामा–माइजु पनि कामको शिलशिलामा भारतमा छन् । किशोरी र तिनका भाइ मात्रै मामा घरमा बस्दै आएका थिए ।

यता किशोरी बलात्कृत हुँदा पनि आफ्न्त र गाउँलेले भने घटना लुकाउने प्रयसा गरेका छन् । किशोरी बेहोस अवस्थामा फेला पर्दा गाउँलेले उनलाई छारे रोग लागेको भन्दै घरेलु उपचार गर्नुपर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिको पहलमा उनलाई अस्पताल लगिएको र हालको उपचार भइरहेको छ ।

यता किशोरीलाई जिल्ला अस्पताल पठाएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको उपस्थितिमा छाउगोठ मंगलबार नै भत्काइएको छ ।