उपकुलपति छनोट प्रक्रियामा प्रधानमन्त्रीले नागरिकलाई झुक्याउने काम गरे : गगन थापा

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकलाई झुक्याउने काम गरेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आरोप लगाएका छन् ।

सोमबार उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन्।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै महामन्त्री थापाले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुनः गल्ती दोहोर्‍याएको दाबी गरे।

उनले प्रधानमन्त्री दाहाललाई खुला प्रतिष्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागेपनि आफैं झुक्किरहेको बताए। उनले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिष्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबण्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्तिसमेत जनाए।

महामन्त्री थापाले भने, ‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ। प्रधानमन्त्रीज्यूले त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामा अहिले खुला प्रतिष्पर्धा गर्छौं भन्नुभयो तर नियत भागबण्डाकै राखियो। जसकारण परिणाम एउटै आउने भयो। झुक्याइयो। अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्यूलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैं झुक्किरहनु भएको छ। मौकाको सदुपयोग नगर्नु भनेको आफैं झुक्किनु हो।’