राष्ट्रियसभा सदस्य निर्वाचन : सबै मतपत्रहरु छपाई गरी सातै प्रदेशका निर्वाचन कार्यालयमा पुर्याउने कार्य सम्पन्न 

काठमाण्डौँ - संवत् २०८०/१०र११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मिति २०८० माघ ५ गते पुर्याउने कार्य सम्पन्न भएको छ ।

 राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छपाई भएका छन् । 

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र  गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरु रहेका छन् । त्यसैगरी लुम्विनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरु रहेका छन् ।

सम्वत् २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते सम्वन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रहरुमा विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म हुने मतदान प्रयोजनका लागि ३८ प्रकारका कूल ६९१० मतपत्रहरु छपाई गरी पठाइएको छ । यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि २०८० फाल्गुन २१ गते देखि ६ वर्षसम्म रहनेछ ।