दैनिक ५० हजार यात्रु काठमाडौंबाट बाहिरिँदै

काठमाडौँ - विजया दशमीमा गाउँघर जानेको संख्या बढ्न थालेपछि काठमाडौंको भीडभाड कम हुन थालेको छ । नयाँ बसपार्क लगायत अन्य नाकाबाट दैनिक करिव ५० हजार यात्रु बाहिरिरहेका छन्। र यो संख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

नयाँबसपार्क, कंलकी, कोटेश्वारलगायत राजधानीको विभिन्न बसपार्कमा बिहानैदेखि बेलुकासम्म आफ्नो गाउँघर जानेको लाइन देख्न सकिन्छ । २२ असोजयता मात्रै काठमाडौंबाट करिब साढे दुई लाख जना विभिन्न नाका हुँदै दशैं मनाउन घर फर्किसकेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

सोमबार साँझसम्म करिब साढे दुई लाखले उपत्यका छाडेको र मंगलबारबाट दैनिक ७०(८० हजारले उपत्यका छाड्न थालेको कार्यालयले जनाएको छ।

असोज २७ बिहान ६ बजेसम्म ४७ हजार ६४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार २७९ र २९ गते बिहान ६ बजेसम्म ५१ हजार ३८७ यात्रु बाहिरिएका छन्। यात्रुहरूको चाप बढेपछि यातायात व्यवसायीले गाडी थप्न थालेका छन् ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार घटस्थापनादेखि नै अधिकांश कलेज, विद्यालय र संघसंस्था बन्द भएसँगै सवसाधारण घर फर्किन थालेका छन्। मंगलबारबाट दैनिक ७०(८० हजार जनाको संख्यामा दशैं मनाउन घर फर्किएका छन् ।

ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने चारवटै नाकामा यात्रु सहायता कक्ष र चेकजाँच गर्ने ठाँउ राखेको छ । काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ। हरेक नाकामा सुरक्षा व्यवस्था मिलाइएको छ।