प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ आइपुगेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी मुस्ताङ आइपुगेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम आएका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ । उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो ।

चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ ।

प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा ९माओवादी केन्द्र० मुस्ताङका इन्चार्ज कपिल लामाले बताए ।