आज पनि फोहोर बोकेका गाडी बञ्चरे डाँडा जान पाएनन् 

काठमाडौँ - नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाण्डौबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान आज पनि पाएका छैनन् ।

फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहोर फाल्न रोकेका हुन् ।

बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

काठमाण्डौको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका र आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिए ।