आज प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौँ - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफल अन्तर्गत आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

 आजको बैठकमा सांसद लिला नाथ श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन, सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, सांसदहरू कृष्ण गोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सांसद प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासनलगायतका मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।