कर्मचारीले भत्ता नपाएको भन्दै सांसद पन्तले उठाए प्रश्न  

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसद सचिवालयमा कार्यरत कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले भत्ताको माग गर्दै केही दिनदेखि कर्मचारीले आन्दोलन गरिरहेकोतर्फ सरकार गम्भीर हुनपर्ने बताए ।

‘उहाँहरूले हिजोको भत्ता माग्नुभएको छैन । कमसेकम अब अतिरिक्त समयमा काम गरेको भत्ता त पाउनुपर्‍यो । अर्थमन्त्रालय लगायत अन्यत्रका कर्मचारीले पाउने, संसदका कर्मचारीले किन नपाउने ?,’ उनले प्रश्न गरे, ‘आज म देखिरहेको छु, सभामुखलाई सहयोग गर्न सबै कर्मचारी हुनुहुन्न, बाहिर धर्नामा हुनुहुन्छ । संसदभित्र यो दृश्य देखिनु आफैमा दुः खद हो कि होइन ?’

सांसद पन्तले संसद्मा सांसदहरुले पढ्नका लागि भनेर आउने गरेको पत्रिका कटौती भएकोबारे पनि जवाफ मागेका छन् । उनले देशको अर्थतन्त्र पत्रिका किन्न नसकिनेगरि बिग्रिएको हो भन्दै प्रश्न गरे । उनले भने, ‘बाहिर सांसदहरूलाई पढ्न भनेर जतिपनि अखबारहरू राखिन्थ्यो, अहिले त्यो पनि कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरुलाई दिने पत्रिकापनि कटौती गर्ने अवस्थामा पुगेको हो र ?’