आज प्रधानमन्त्री दाहाललाई २० सांसदले सोध्दैछन् प्रश्न 

काठमाडौँ - आजको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० जना सांसदहरूले प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार काँग्रेसका चार,एमालेका तीन,माओवादी केन्द्रका एक,राष्ट्रिय स्वतन्त्र पार्टीका एक,राप्रपाका एक,जनता समाजवादी पार्टीका एक सांसदले प्रश्न सोध्ने तयारी गरेका छन् ।

यसैगरी नेकपा एस,जनमत,नागरिक उन्मुक्ति,लोसपा,राजमोका एक एक जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न संसद् सचिवालयमा नाम टिपाउने भएका छन् । नेमकिपा, आम जनता र स्वतन्त्र दुई गरी २० जना सांसदले प्रधानमन्त्रीलाई विभिन्न समसामयिक विषयमा प्रश्न सोध्ने गरी सचिवालयमा नाम टिपाएका छन् ।

यसरी प्रश्न सोध्न नाम टिपाउनेहरूमा काँग्रेसबाट ईश्वरी देवी न्यौपाने,रामहरि खतिवडा,दिलेन्द्र प्रसाद बडू र दीपक गिरि छन् । यस्तै एमालेबाट पदम गिरि,रघुजी पन्त र विद्या भट्टराईले प्रश्न राख्ने भएका छन् । यस्तै माओवादी केन्द्रका पूर्ण बहादुर घर्तीले प्रश्न सोध्ने हुनु भएको छ । रास्वपाका शिशिर खनाल,राप्रपाका ज्ञानेन्द्र शाही,जसपाका दीपक कार्की,नेकपा एसका मेटमणि चौधरीले प्रश्न राख्ने भएका छन् । 

त्यस्तै जनमत पार्टीका अनिता देवी,नागरिक उन्मुक्तिका गंगाराम चौधरी,लोसपाका सर्वेन्द्रनाथ शुक्ला,राजमोका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले प्रश्न सोध्न नाम टिपाएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ । यसैगरी आम जनता पार्टीका प्रभु साह र स्वतन्त्र सांसदहरू अमरेश कुमार सिंह र योगेन्द्र मण्डलले प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्ने तयारी गरेका छन् ।