सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन कांग्रेसलाई रास्वपाको आग्रह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले कांग्रेसलाई सत्ता बाहिर पुग्दा धेरै नछट्पटिन आग्रह गरेका छन्। 

 सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । सांसद चौधरीले गृहमन्त्री रवि लामिछानेलाई गृहमन्त्री स्वीकार्न आँट गर्न अनुरोध गरेका छन्।

उनले रवि लामिछाने जनताको मत, विश्वास र इज्जतको कदर गर्दै गृहमन्त्री बनेको भन्दै गृहमन्त्रीको रुपमा स्वीकार्न आँट गर्न आग्रह गरेका हुन्।

यसअघि बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्नुपर्ने धारणा राखेका थिए। त्यसको जवाफ दिँदै सांसद चौधरीले अरुलाई औँला देखाउनुअघि आफैँतिर फर्किएका औँलाहरु हेर्न आग्रह गरे।

उनले सांसद थापालाई सत्ताका लागि पानी बिनाको माछाझैँ नतड्पिन सुझाव समेत दिए।