प्रकाशशरणलाई ‘बलिको बोको’ बनाइयो : अर्थमन्त्री पुन

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले आफ्ना पूर्ववर्ती डा प्रकाशशरण महतलाई ‘बलिको बोको’ बनाइएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनका पदाधिकारीसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

‘एक डेढ वर्ष अघि श्रीलंका हुन्छ भनिएको अर्थतन्त्र अहिले त्यही कुरा गलत साबित भएको छ’, उनले भने, ‘यसो हुनुमा सरकारले गरेका प्रयासहरुको महत्वपूर्ण भूमिका छ ।’ उनले एक वर्ष अघि अर्थतन्त्रका विषयमा हुने टिकाटिप्पणी र बहसहरु अहिले नसुनिने अवस्था आएको बताए । ‘पोहोर जुन कुरामा बहस हुन्थ्यो, अहिले हामी बिल्कुल नयाँ कुरामा बहस गरिरहेका छौं । हाम्रा समस्या र चुनौती फेरिएका छन्’, उनले थपे ।

निवर्तमान अर्थमन्त्री महतले चालेका कयौं राम्रा प्रयासहरुबाट नै यो अवस्था आएको उनको तर्क थियो । उनले राजनीतिक समीकरण फेरिनु र गठबन्धन बदलिनुमा वास्तविक कारणहरु अलग्गै भए पनि अर्थमन्त्रीलाई ‘बलिको बोको’ बनाइएको बताए ।