झन्डै २४ खर्ब पुग्यो सार्वजनिक ऋण, एक नेपालीको थाप्लोमा ८२ हजार ऋण !

काठमाण्डौा - हाल नेपालको कुल सार्वजनिक ऋण झन्डै २४ खर्ब पुगेको छ । फागुन मसान्तसम्म आइपुग्दा नेपालको सार्वजनिक ऋणको दायित्व २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

कुल तिर्न बाँकी ऋण रकममा आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख र बाह्य तर्फ १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ रहेको छ। नेपालको सार्वजनिक ऋण महिनापिच्छे बढेको छ ।

गत माघ मसान्तसम्ममा पनि नेपालको तिर्नका बाँकी कुल ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ रहेको थियो । विशेषगरि नयाँ ऋण थपिएसँगै कुल ऋणको भार बढेको हो ।

सावाँ भुक्तानी भन्दा थप ऋण लिएपछि मासिक भार बढ्दो नै छ। हाल एक नेपालीको भागमा ८२ हजार रुपैयाँ ऋणको भार छ । राष्ट्रि तथ्याङ्क कार्यालयका अनुसार हाल नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।