गौशाला २६ को तस्वीर सार्वजनिक गर्ने युवालाई सात दिन थुनामा राखिने

काठमाडौँ । गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका युवालाई सात दिन थुनामा राखिने भएको छ । उनीमाथि अनुसन्धान गर्न प्रहरीको साइबर ब्युरोले अदालतबाट सात दिनको अनुमति पाएको छ ।

आज जिल्ला अदालत काठमाडौँले ब्युरोले राईलाई थुनामा राख्न सात दिनको अनुमति दिएको हो । ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुक र युट्युबमा नाम, ठेगाना र तस्बिर सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक आघात पुर्‍याएकाले कानुनी कारबाही गर्न माग गर्दै पीडित युवतीले ब्युरोमा निवेदन दिएकी थिइन् ।

सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि गौशाला २६ को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा संखुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले पक्राउ गरेको थियो ।