अमेजनको जंगलमा विमान दुर्घटना, सबै १४ जनाको मृत्यु

काठमाडौं - ब्राजिलको अमेजन जंगलको बीचमा रहेको बार्सिलोस सहरमा शनिबार भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त विमान एउटा सानो प्रोपेलर विमान थियो जुन खराब मौसममा अमेजनसको मानुसबाट बार्सिलोसका लागि उडान गरिरहेको थियो।

भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । दुई चालक दलका सदस्यबाहेक १२ जना यात्रु थिए जसमध्ये केही पर्यटक रहेको बताइएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार अमेजनसका सुरक्षा अधिकारी भिनिसियस अल्मेडाले भने, “सानो विमानका पाइलटहरू भारी वर्षाको बीचमा सहरमा पुगेका थिए, जहाँ त्यसबेला भिजिबिलिटी निकै कम थियो।”

“अनजानमा उनीहरूले रनवेको बिचमा अवतरण गर्न खोजेको जस्तो देखिन्छ। जसका कारण विमान पूरै अवतरण हुनुअघि नै रनवेको स्ट्रिप सकियो र विमान दुर्घटना भयो।”

समाचार एजेन्सीका अनुसार यात्रुहरू सबै ब्राजिलियन मूलका हुन् जो बार्सिलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थिए ।