‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘विद्युत् विधेयक, २०८०’ संसद्मा दर्ता गरेको छ । मन्त्रालयले उक्त विधेयक भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गराएको हो । तीन वर्षअघि पनि संसद्मा विद्युत् विधेयक दर्ता भएकामा गत वर्ष भदौ ३१ मा राष्ट्रियसभाबाट फिर्ता भएको थियो ।

सङ्घीय एकाइबीच विद्युत् आयोजनाको विकास तथा सञ्चालन गर्ने अधिकार, दायित्व तथा जिम्मेवारी बाँडफाँट गर्ने कानुनी व्यवस्था गर्ने उद्देश्य यो विधेयकको रहेको छ । त्यस्तै प्रतिस्पर्धाका आधारमा विद्युत् आयोजनाको विकास र सञ्चालन गर्ने कानुनी व्यवस्था र संरचना तयार गर्न विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

विद्युत् उत्पादन, प्रसारण, वितरण, व्यापार तथा ग्राहक सेवाका लागि अनुमतिपत्रसम्बन्धी व्यवस्थामा सुधार तथा परिमार्जन गर्न र अन्तरदेशीय विद्युत् व्यापारका लागि कानुनी व्यवस्था गर्न यो विधेयक ल्याइएको सरकारको भनाइ छ । राष्ट्रिय प्रसारण ग्रीड तथा वितरण प्रणालीमा खुला पहुँचको अवधारणा लागू गर्दै विद्युत् व्यापारलाई प्रवर्द्धन गर्ने नीति कार्यान्वयनका लागि पनि यो विधेयकमार्फत व्यवस्था गर्न लागिएको छ ।