देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौँ - चिकित्सकमाथि भएको कुटपिटको विरोध गर्दै नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सवै सेवा ठप्प पारिएको छ ।

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको विरोध गर्दै संघले सरकारी अस्पताल, निजी अस्पताल, मेडिकल कलेज तथा क्लिनिकमा सेवा बन्द गरेको हो ।

डाक्टरमाथि कुटपिटमा संलग्नलाई फौजदारी अभियोग तथा ऐनबमोजिम कारबाहीको सुनिश्चितताको माग संघले राखेको छ ।

चिकित्सकहरुको आन्दोलनका कारण देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन्, जसका कारण उपचारका लागि स्वास्थ्य संस्था पुगेका विरामीहरु मर्कामा परेका छन् ।

चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति राज्यले गर्न नसक्दा बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको चिकित्सकहरुले जनाएका छन् 
गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीका आफन्तले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो।

त्यसलगतै दोषिलाई कारवाही गर्नुपर्ने माग राख्दै संघले आन्दोलनको घोषणा गरेको थियो।