लिबियाको भीषण बाढीपछि अधिकारीहरूमाथि लापरवाहीको आरोप

काठमाडौं - पूर्वी लिबियामा अचानक आएको बाढीको पाँच दिन बितिसक्दा पनि राहत कार्य सुस्त गतिमा चलिरहेको छ । स्थानीय जनताको सहयोग र राहत कार्यमा यहाँ आउने अन्तर्राष्ट्रिय सहयोग अपेक्षा गरेभन्दा निकै कम छ ।

बाढीले नराम्ररी प्रभावित डेर्नामा बिजुली नभएको र यहाँका स्थानीयले पिकअप ट्रक र केही मेसिनको सहयोगमा बेपत्ताको खोजी गरिरहेको बीबीसी टोलीले जनाएको छ ।

बाढीले सहरको ठूलो भूभाग पूर्णरुपमा ध्वस्त भएको र मानिसहरु खुल्लामा सुत्न बाध्य भएको बाढीबाट बाँचेकाहरु बताउँछन् । यहाँ न त बिजुलीको सुविधा पुर्याइएको छ न त आवश्यकता अनुसार खानेपानीको सुविधा छ ।

क्षतिग्रस्त सडक र पूर्वाधारको अभावका कारण यहाँसम्म पुग्न मुस्किल परेको मानवीय राहत कार्यमा संलग्न संघसंस्था बताउँछन् । डेर्नामा आवश्यकताअनुसार मानवीय सहायता नपुगेको बीबीसी टोलीले जनाएको छ ।

यहाँको राजनीतिक अवस्थाका कारण यो ठाउँ अत्यन्तै बेवास्ता भएकाले राहत निकायलाई यहाँ पुग्न मुस्किल परेको समेत बताइएको छ ।

पूर्वी लिबियाका अधिकारीहरूले मानिसहरूलाई आफ्नो घरबाट ननिस्कन आग्रह गरेको आरोप लगाइएको छ, त्यसैले यहाँ धेरै मृत्यु भएको छ।

बेनगाजीमा रहेका सरकारी प्रवक्ता उत्मान अब्दुल जलीलले आरोपको खण्डन गर्दै बीबीसीलाई भने कि सेनाले डेर्नाका मानिसहरूलाई घर खाली गर्न भनेको थियो।

उनले सरकारले उक्त ठाउँ खाली नगर्ने विषयमा जनतालाई केही नबोलेको बताए पनि अधिकारीले बढाइचढाइ गरेर बोलेको कतिपयले महसुस गरेका छन् ।

प्राप्त समाचार अनुसार यहाँ बाढीका कारण हालसम्म ११ हजार जनाको मृत्यु भएको छ । डेर्नाका मेयरले मृतकको संख्या २० हजारसम्म हुन सक्ने बताएका छन् ।