एक महिने ‘गुँला पर्व’ आजदेखि सुरु

काठमाडौँ - मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौं उपत्यकामा विशेषरुपमा मनाइन्छ ।

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु भएको हो । नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरुको उपकार गर्ने कामलाई जनाउने राज गुरुजु मञ्जुश्रीबज्र बज्राचार्य बताउँछन् । यस पर्वका अवसरमा जुन नियमले जीवनलाई राम्रो गर्छ, त्यसलाई पालना गरिन्छ ।

“यस पर्वका अवसरमा सक्नेले दशशील, नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले कम्तीमा पनि पञ्चशील पालना गर्नुपर्छ, पञ्चशील सबैले सधैँ पालना गर्नुपर्छ भन्ने नियम छ”, उनले भने । पञ्चशीलमा प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, काम मिथ्याचार नगर्ने अर्थात् श्रीमान् र श्रीमतीबीच मात्र शारीरिक सम्पर्क गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने पर्छन् ।