पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । गएराती परेको अविरल वर्षाको कारण पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका - ८ स्थित ५३ किलो भन्ने स्थानमा पहिरो जाँदा अरनिको राजमार्ग अवरुद्ध भएको हो।

पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारीसाधन रोकिएका छन्। साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइरहेको उनले बताए। 

सुरक्षाकर्मीको टोली खटाई स्थानीय तह र सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।