क्यानडामा डेरा र रोजगारी पाउन कठिन भएको भन्दै सचेत हुन दूतावासको आग्रह   

काठमाडौँ । क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ ।

पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई बस्ने ठाउँ लगायत सबै कुराको जानकारी लिएर मात्र जान दूतावासको आग्रह छ ।

अहिले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको सङ्ंख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको दूतावासले जनाएको छ । अध्ययन गर्ने कलेज रहेको शहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।

क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइ, सम्बन्धित शहरका एनआरएनए लगायत प्रवासी नेपालीका सङ्घसंस्था तथा रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिन दूतावासले भनेको छ ।

नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ । यसअघि पनि दूतावासले क्यानडामा विद्यार्थीले जानेबित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो ।