बन्चरेमा फोहोर व्यवस्थापन अस्तव्यस्त : ककनी र धुनीबेसीका बासिन्दा फेरि आन्दोलित

काठमाडौँ - फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका बासिन्दा फेरि आन्दोलित भएका छन् । उनीहरुले काठमाण्डौको फोहर लिएर गएका गाडीलाई बिहानैदेखि बीच बाटोमै रोकेका छन् ।

ककनी गाउँपालिका वडा २ र ३ सशस्त्र प्रहरीको बेसक्याम्प नजिक स्थानीयबासिन्दाले फोहरका गाडीलाई रोकेका गाउँपालिकाका सूचना अधिकारी सुनिल आचार्यले जानकारी दिए । नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ ।

बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा तथा सिसडोल नुवाकोटमा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै आजदेखि फोहर फाल्न रोकेका हुन् ।

बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ ।

केही दिनअघि मात्रै ककनी गाउँपालिकाले फोहर बोकेर बञ्चरेडाँडा जाने हरेक ठूला ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने र साना ट्रकको एक हजार रुपैयाँ लिने निर्णय गरेको थियो । अहिले पैसा उठाउने विषयभन्दा पनि स्थानीय बासिन्दाको स्वास्थ्य महत्त्वपूर्ण भएकाले फोहर फाल्न रोकेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए । अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा पुग्ने गरेको छ ।

धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आर्चायले बन्चरे डाँडाँमा उपत्यकाको फोहोर अस्तव्यस्त तरिकाले फालेको बताउदै आएका छन् । उनले महानगरलगायत सम्बन्धित निकायका मानसिकता फोहोर फ्याँक्ने मात्रै तर सम्झौता अनुसार कार्यान्वयन नभएकोले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताए ।

शनिवार भने एक सय ५० वटासम्म ट्रक फोहर बोकेर बञ्चरेडाँडा पुग्ने गरेका छन् ।