पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको अध्यक्ष नेपालको दाबी   

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन्।

पार्टीनिकट अखिल नेपाल महिला संघ (समाजवादी)  ले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

अध्यक्ष नेपालले पार्टीले नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक, सांगाठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गरे।

उनले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे।

अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौँ। त्यतिखेरै हामीले घोषणापत्र जारी गर्दाखेरी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर हामीले प्रष्ट सोच र धारणा अगाडि सारेका छौँ। पार्टीमा विभिन्न पक्षहरुबाट त्यसको व्याख्या र विश्लेषण गर्दै हामी अगाडि बढेका छौँ।’

अध्यक्ष नेपालले मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरुले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि स्पष्ट पारे।