उपत्यकाको विद्युत् प्रणाली भूमिगत बनाइँदै, सबै विद्युतका पोल हटाइने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा असरल्ल रहेका सबै विद्युतीय पोल हटाउने भएको छ । काठमाडौँका विभिन्न ठाउँमा जडान भइसकेका भूमिगत विद्युत् प्रणाली अब केही दिनमा परीक्षणका रूपमा सञ्चालनमा ल्याउने र त्यस क्षेत्रका विद्युतीय पोल तथा तार हटाउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका पेप्सीकोला९जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलङ्की–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङमा भूमिगत विद्युत् जडान सम्पन्न गरिसकेकाले ती स्थानमा अबको छ महिनाभित्र पोल हटाइने प्राधिकरणले जानकारी दिएको हो ।

सूचनामा भूमिगत विद्युत् प्रणाली योजना पूरा भइसकेका उल्लिखित ठाउँका बिजुली पोलमा जडान भएका सडकबत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबुल, सिसी क्यामरालगायतका संरचना र उपकरण छ महिनाभित्र हटाउन सूचित गरेको छ ।